काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभामा उनले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत मात्रै प¥यो भने विपक्षमा भने ५३ मत प¥यो ।
यादवलाई मुख्यमन्त्रीको पद जोगाउन ५४ मत आवश्यक थियो । बुधबार प्रदेशसभामा भएको विश्वासको मत लिने कार्यक्रममा १०३ सांसद उपस्थित थिए ।
मुख्यमन्त्री यादवलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको थियो भने नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।
एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए । बुधबार उनले पाँचौँपटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेश गरेका थिए । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सबै भन्दा धेरै सभामुखसहित २५, नेपाली कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट र अन्य तीन दलको एक एक सिट छ ।