काठमाडाैँ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सोमबारबाट टियु र मुलपानी क्रिकेट मैदानमा हुने टी–२० विश्वकप क्वालिफायर प्रतियोगितामा यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई दोहोरिन नदिने बताएका छन् ।
आइतबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पत्रकारसँगको अन्तरक्रियामा नेपाली टीमका कप्तान पौडेलले नेपाली टीम खेलका लागि उत्साहित र आत्मविश्वासी रहेको साथै स्पीनर सन्दीप लामिछानेको पुनरागमनले टीम अझ सशक्त र ब्यालेन्स भएको बताएका छन । ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’ कप्तान पौडेल भन्छन् ।
त्यस्तै प्रशिक्षक मोन्टी देसाईले समेत सन्दीप लामिछानेको नयाँ इनर्जीका साथ भएको कमब्याकले नेपालको बलिङ मजबुत हुनेमा विश्वस्त रहेको बताएका छन् । ‘सन्दीपलाई अलिकति ब्रेक चाहिएको थियो । अब ऊ नयाँ इनर्जीका साथ ड्रेसिङ रूममा फर्किएको छ । उसको उपस्थितिले धेरै फरक पर्नेछ ।’
सोही प्रि-म्याच कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देसाईले नेपालले केही समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरु सुधार गर्दै अघि बढेको बताए । उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने समेत जानकारी गराए । त्यस्तै विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफुहरु उत्साहित रहेको उनको भनाइ छ ।
‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौँ । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौँ । हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ,’ उनले भने ।
टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो । नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।