भदौ ८, ललितपुर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षसहितको संयुक्त पत्रकार सम्मेलनमा उनले आगामी १५ गते हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
त्यस्तै उक्त पत्रकार सम्मेलनमा उनले चुनावमा उठ्ने प्यानलको समेत घोषणा गरेका छन् । उनले उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला रहने साथै ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणाा गरेका हुन्।
यसअघि गत साउनमा भएको काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएपछि पारसका लागि प्रदेश र केन्द्रको कुनैपनि पदमा लड्न पाउने बाटो खुलेको हो।
क्यानको विधान अनुसार कुनैपनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु पर्ने हुन्छ।
बागमती प्रदेश संघमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट गरी ६ जिल्ला छन्। बागमतीको चुनावमा हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेशको चुनावमा भोट हाल्न पाउँछन्। जसमा चार जिल्ला पारसको समर्थनमा छन् भने बाँकी चितवन र नुवाकोटसँग पनि समन्वयको प्रयास भइरहेको पारसले बताए।
प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिँदै उनले समग्र क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे ।