काठमाडौँ । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर टेलिभिजनमा दिएको अन्र्तवार्ता सम्बन्धमा क्षमायाचना गरेका छन् । उक्त अन्र्तवार्ताका सम्बन्धमा महजोडीले चर्को आलोचना खेपिरहेका थिए ।
कार्यक्रममा क्रममा अस्ट्रेलिया पुगेका महजोडीले त्यहीँबाट भिडियो सन्देशमार्फत क्षमायाचना गरेका हुन् । ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ’ मदनकृष्ण श्रेष्ठले भिडियो सन्देशमा भनेका छन् ।
त्यस्तै हरिवंश आचार्यले पनि अदालतमा विचाराधीन मुद्दामा बोलेर गल्ती गरेको बताएका छन् । आचार्यले भने, ‘हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’
सिरोहिया पक्राउको विषयमा महजोडी लगायत अन्य कलाकारले पनि सिरोहियाको पक्षमा अभिव्यक्ति दिएका थिए । त्यसपछि महजोडीको आलोचना सुरु भएको थियो । सोही क्रममा उनी कार्यक्रमको लागि अस्ट्रेलिया पुगेका थिए । तर उनीहरुको कार्यक्रमको टिकट लिएका अधिकांसले आफूले तिरेको रकम फिर्ता मागेका थिए । केहीले त बहिष्कार अभियान नै चलाएका थिए ।