काठमाडौँ । एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी महिला जानुका पाठक उर्फ शोभाले आफ्नो र महेशको सम्बन्धको विवाद पार्टी महासचिवलाई पार्टी कार्यालयमै राख्दा पनि न्याय नपाएको बताएकी छिन् ।
पाठक र उनका नातेदार बताउने राजकुमार त्रिपाठीबीच यही विषयलाई लिएर सृजना भएको विवाद यतिबेला जिल्ला अदालत काठमाडौँ पुगेको छ । सामाजिक सञ्जालमा गाली गलौज गरेको भन्दै त्रिपाठीले पाठक विरुद्ध हालेको साइबर अपराधको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले पुस ९ गते अदालतमा पेश गरेको थियो ।
पुस १ गते देखि प्रहरी हिरासतमा रहेकी पाठकलाई अदालतले साधारण तारेखमा छाड्न ११ पुसमा आदेश दिइसकेको छ । सोही मुद्दामा पाठकले प्रहरीलाई दिएको बयानमा महेशले गरेको अन्यायबाट न्याय दिलाइ दिन एमाले पार्टी कार्यालय च्यासलमा महासचिव भेटेको तर न्याय नपाएको उल्लेख छ । महेश र आफू बीचको विवाद मिलाउन आएका राजकुमार त्रिपाठीले छोरीको नाता लगाएर आफ्नो कुरा महेशलाई पुर्याएको तथा नक्कली फेसबुक बनाएर सार्वजनिक गरेको र त्यसको विरुद्धमा सामाजिक सञ्जालमा लेख्दा आफूमाथि झुट्टा मुद्दा लगाइएको उनको बयानमा भनिएको छ । पाठकले महेशले आफूसँग विवाह गर्ने भन्दै निकटस्थ सम्बन्धमा रहेर धोका दिएको आरोप लगाउँदै आएकी छिन् ।
यस्तो छ पाठकले प्रहरीमा दिएको बयान
जाहेरवाला राज कुमार त्रिपाठीको म लगायत मेरा सम्पूर्ण परिवार बुवा, आमा, भाइ, बहिनी, अङ्कल आन्टी सबैसँग चिनजान छ । निज बेलाबखतमा मेरो घरमा आई पारिवारिक रुपमा खाना खाने, मेरै घरमा बस्ने र मलाई छोरी भन्ने गर्दथे ।
दुःख पर्दा मबाटै सहयोग लिन्थे, महेश बस्नेत र मेरो झगडा परिरहेको बेला मैले विष सेवन गरेँ, त्यतिबेला निज जाहेरवालाले मलाई फोन गरेर छोरी तिम्रो तर्फबाट मुद्दा म लड्छु मैले तिमीलाई न्याय दिलाउँछु, तिमी मर्ने काम नगर भनी फेसबुकको मेसेन्जरमा समेत भ्वाइस म्यासेज पठाएर मलाई विश्वास दिलाएको थियो ।
महेश बस्नेतले म माथि गरेको अन्याय कै विषयलाई लिएर नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा म र जाहेरवाला राज कुमार त्रिपाठी गई नेकपा एमालेको पार्टी महासचिव शंकर पोखरेलसँग भेट गरी कुराकानीको क्रममा महेश बस्नेतले मेरो छोरीलाई अन्याय गर्यो । पार्टीबाट सहजीकरण गरी दिनुपर्यो र महेश बस्नेतलाई पार्टीबाट हटाउनु पर्यो भनी कुरा गर्नुभयो ।
त्यसपछि ठमेलस्थित छाया सेन्टरमा निज जाहेरवालाले आफ्नो भिनाजु धादिङकै थपलिया थर भएको वकिलको अफिसमा लग्यो, त्यहाँ महेश बस्नेतविरुद्ध मुद्दा लेख्न भन्यो तर वहाँले आफ्नो स्टाफ आस्मा केसीलाई लेख्न लगाउनु भयो । त्यही बेलासम्म मेरो मोबाइल मसँग थिएन, आस्मा केसीको ल फर्मबाट निज राज कुमार त्रिपाठीको इमेलमा पठाएको थियो ।
मुद्दा लेखेको कुरा महेश बस्नेतले थाहा पाएपछि वहाँ र म बीच झगडा भयो, यसै सिलसिलामा २ जना अपरिचित व्यक्तिले मेरो मोबाइल, गरगहना लुटी लग्यो । त्यो बेला मसँग मोबाइल नभएको कारणले महेश बस्नेतसँग निज राज कुमार त्रिपाठी नजिक हुन पुग्यो र मेरै घरमा खाना खान आएको बेला मैले र निज राज कुमार त्रिपाठीले गफ गरेका कुराहरू आफ्नै मोबाइलमा रेकर्ड गर्यो र आफूले बोलेका कुराहरू काटी मैले बोलेका कुराहरू टिना टिना नामको आईडिमा पोष्ट गर्यो ।
त्यसपछि मैले साइबर ब्युरोमा मुद्दा दिएँ र पत्रकारहरूले यसै विषयलाई लिएर मलाई बारम्बार फोन गरी प्रश्न गरेकोले प्रत्येक व्यक्तिलाई जवाफ दिन नसकेकोले मैले मेरै फेसबुक प्रोफाइलबाट मैले त्यो अडियो र टिना टिना आईडीको स्क्रिनसट राखी २०२३ मे २९ मा स्पष्टिकरण दिनलाई महेशबाट परिचालित राज कुमार त्रिपाठीको कालो कर्तुत मेरै अपार्टमेन्टमा हामीसँगै बसेर खाएको नपचेको तेरो नजिक र मेरो टाढा कहिले हुँदैन ।
अहिले तलाई परिचालन मात्र गरेको जाबो भरौटे दलाली अर्काको घर भडुवा जस्तो शब्दहरु लेखि पोष्ट गरेकी हुँ । त्यसको भोलि पल्ट राज कुमार त्रिपाठीले मलाई फोन गरी हटाईदेउ भनेपछि मैले हटाई दिएँ ।