टी २० विश्वकप क्रिकेटमा साउथ अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट र दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने भएका हुन् । नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।