हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ । वित्तीय व्यवस्थातर्फ भने एक अर्ब ५० करोड विनियोजन गरिएको छ ।
कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले बताए । गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाखको बजेट ल्याएको थियो । यो बजेट अघिल्लो वर्षको तुलनामा करिब रु एक अर्ब ८३ करोड १४ लाख ३१ हजारले वृद्धि भएको हो ।