काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिवन्धुका बिषयमा पहिला एमाले अध्यक्षले नै कांग्रेसमाथि आरोप लगाएकाले त्यसको प्रतिवाद गरेको बताएका छन् । सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै शर्माले यस्तो बताएका हुन् ।
उनले कसैमाथि लागेको आरोपको प्रतिवाद गर्ने छुट सवैलाई भएको भन्दै आफुले तथ्यसहित गिरिबन्धुका बिषयमा धारणा राखेको उल्लेख गरे । ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेको छ। कांग्रेसको कसैले केही पनि प्रतिक्रिया दिएको थिएन। पहिलो आक्रामक प्रतिक्रिया त सम्माननीय केपी ओलीकै थियो। शर्माले भने, ‘उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो। उहाँले आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने ? कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौन धारणा गरेर त हुँदैन नि।’
यसअघि सोमबार नै बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा एमालेका नेताहरुले केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने जनाएका थिए ।