काठमाडौँ । काठमाडौँको थलीमा मृत फेला परेका कृष्ण नगरकोटीको छोरा र छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरकोटीको छोरा काठमाडौँको फर्पिङमा घाइते अवस्थामा फेला परेका हुन भने छोरीलाई बबरमहलबाट नियन्त्रणमा लिइएको हो ।
काठमाडौँको कागेश्वरी मनहरा–५, सानोथलीमा मंगलबार बिहान भक्तपुर–७ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी मृत फेला परेका थिए ।
प्रहरीले उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको पहिचान गरेको थियो । मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला परेका उनको मृत्यु शंकास्पद देखिएकाले प्रहरीले पोस्ट मार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
मुलपानीबाट थलीतर्फ जाने सडकको किनारमा मृत फेला परेका उनको घाँटी काटिएको छ । त्यस्तै थली प्रहरीका अनुसार उनको शव नजिकै ब्लेडसमेत फेला परेको छ । त्यस्तै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।