रुकुमपूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तकरण गरिने बताएका छन् । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरुपमा आफ्ना कुरा राखिने बताए ।
जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्यरुपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पारे ।
आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर गएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ ।
नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताए ।