काठमाडौं । प्रा.डा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै डा केसीले मन्त्री बस्नेत माफियाको नाइके भएको आरोप लगाउँदै पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यता को बखिर्तलाप भएको भन्दै पदमुक्त गर्न माग गरेका हुन् ।
शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा। केसी ठीक भए पनि उनलाई गिरोहले सञ्चालन गरिरहेको आशयको धारणा राखेका थिए ।
स्वास्थ्यमन्त्री बस्नेतको उक्त भनाइ बाहिरिएपछि डा। केसीले आइतबार विज्ञप्ति मार्फत आरोप खण्डन गर्नुका साथै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।
डा केसीले भनेका छन् ‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा.केसीले भनेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।’
डा केसीले भनेका छन्, ‘स्वास्थ्यमन्त्रीको पद सम्हालेदेखि नै माफियाहरुको पक्षमा नग्न रुपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्’ ।
यस्तै, स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव नभएको र उनले जान्ने प्रयास समेत नगरेको आरोप डा.केसीको छ । केसीलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गरेको आरोप समेत लगाएकाा छन् ।