
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सङ्घीय निजामती सेवा विधेयकमा सहमति खोज्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न शुक्रबार बसेको बैठकमा विधेयकको दफाहरुमा सहमति जुट्न नसकेपछि उपसमिति गठन गरिएको हो ।
सांसद दिलेन्द्र बडूको संयोजकत्वमा गठित उपसमितिलाई विवादित विषयमा सहमति खोज्न एक महिनाको समय दिइएको छ । उपसमितिमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ल र हितराज पाण्डे रहेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
उपसमितिलाई सहमति जुट्न नसकेका बिषयमा सहमति जुटाइ प्रतिवेदन पेश गर्न भनिएको छ । एउटा दफामा पनि सहमतिमा जुट्न नसकेपछि समस्या देखिएकाले विधेयकलाई सहमतिमार्फत छिटो अघि बढाउन उपसमिति गठन गरिएको सभापति खतिवडाले बताए ।