काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको टोली मलेसिया जाने भएका छन् । मलेसियामा रहेको नेपालीहरूको अवस्था बुझ्न सभापति लामिछाने आजै राति १० बजे मलेसिया उड्ने सचिवालयले जनाएको छ ।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरा रहेका छन् । लामिछानेको सचिवालयका अनुसार डिसेम्बर ३० मा क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने अन्तरक्रियामा लामिछाने सहभागी हुने छन् ।
साथै डिसेम्बर ४ सम्म मलेसियामा रहेको नेपाली समुदायसँग भेटघाट गर्ने तय गरिएको जनाइएको छ । भ्रमणले वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका समस्यालाई नजिकबाट बुझ्न सहयोग पुग्ने सचिवालयले जनाएको छ ।
लामिछानेको अनुपस्थितिमा पार्टीको नेतृत्व गर्न उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् भने र संसदीय दलको नेतृत्व गर्न उपनेता विराजभक्त श्रेष्ठलाई कार्यवाहक नेताको जिम्मेवारी तोकेका छन् ।