नागरिक बचाऊ अभियानको संयोजकत्व गरिहेका दुर्गा प्रसाईँ र विवादित धर्मगुरु श्रीनिवास आचार्यको विवादित अभिव्यक्तिका कारण सोमबार गौशालामा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।
राजसंस्था फिर्तालाई मुख्य एजेण्डा बनाएर केही दिनयता काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको उक्त समूह सोमबार शक्ति प्रदर्शनका लागि गौशाला पुगेका थिए । उक्त भिडलाई उचाल्न आफ्ना समर्थकसहित धर्मका नाममा अराजकता फैलाइरहेका धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका थिए । उनले भिडलाई गौशालाको बिच सडकमा सुतेर सडक अवरुद्ध गर्न उचालिरहेका थिए भने प्रसाईँ प्रहरीमाथि जाइलाग भन्दै भड्काउ अभिव्यक्ति दिइरहेका थिए ।
उनीहरुले भनेअनुसार नै उनीहरुका समर्थकले सडक अवरुद्ध गरेपछि प्रहरीले उनीहरुलाई हटाउन प्रयास गरेको थियो । उक्त क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो ।
झडपका क्रममा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् भने धर्मगुरु आचार्य श्रीनिवाससहित १० बढिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।