काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ । गएको कार्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलजिस्ट, माइक्रोवायोलोजिष्ट सहितको टोलीले अहिलेसम्म अनुगमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ ।सुन्धारा, न्युरोड ,मखन, त्यौड, कलमपोखरी क्षेत्रका ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८%) व्यवसाय दर्ता नै भएका छैनन् ।
प्रतिवेदनमा ममको किमा बनाउन प्रयोग गरिने मेसिन, मसला राख्ने भाँडा, पकाउने भाँडा फोहोर राखिएको उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार उनीहरूले दैनिक रुपमा प्रयोग गर्ने एप्रोन निकै फोहोर भेटिएको छ भने भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको पाइएको छ । प्रतिवेदन अनुसार अधिकांस मम पसलमा मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ । साथै मसला राख्ने भाँडानै निकै फोहोर भेटिएका छन् भने पकाएका खानेकुरा खुल्ला राख्ने गरेको पाइएको छ । यस्तै डस्टबिनको उचित प्रयोग नगरिएको, भुँईमा पानी जमेर फोहोर भएको, पकाएको र नपकाएको खाना सँगै राख्ने गरिएका भेटिएको उल्लेख गरिएको छ ।
यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको छ । यसरी दिइएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियो र फोटोसहितको प्रमाण लिएर विभागमा उपस्थित भएका छन् । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको छ । यस्तै दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको काठमाडौँ महानगरले जनाएको छ ।