काठमाडाैँ । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ ।
नेपालमा प्रतिबन्धित रहेको अनलाइन क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी २६ वर्षीय डम्बर साहलाई पक्राउ गरेको हो।
साहले क्रिप्टो र अनलाइन जुवाको कारोबारका लागि २ वर्षको अवधिमा मात्र १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यस्तै उनले यसबाहेक विभिन्न सामाजिक संजालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ । उनले अनलाइनमार्फत ‘पार्सल पठाएको छु’ भनेर विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने र सम्पर्कविहिन बन्ने गरेको प्रहरीले जनाएको छ ।
उनले उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको बैँक खाताबाट खाता अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ। कारोबारका लागि उनले आफ्नो नाममा मात्रै विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ।
शाहले आफूले क्रिप्टो खरिद गर्ने र अन्य व्यक्तिले मागेअनुसार उनले पैसा लिएर उनीहरुलाई बेच्ने गरेको प्रहरीले जनाएको छ । उनले कम्पनीका ४ र आफ्ना ११ गरी २ वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेका हुन् ।
उनले सामान्यतया अवैध जुवा खेल्नका लागि क्रिप्टोकरेन्सी किन्ने र बेच्ने, अन्यलाई ट्रान्सफर गर्ने र एकाउन्ट ह्यान्डलिङ गर्ने समेतका काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनीसँगै यस काराेबारमा ठूलाे गिराेह संलग्न रहेको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ ।