काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भाद्र ७ गते बस्नेगरि स्थगित भएको छ ।
पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि बैठक भाद्र ७ गते बस्ने गरि स्थगीत गरिएको हो । पदाधिकारी र पूर्व पदाधिकारी बैठकहरुले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
सोमबारको बैठकमा चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य लगाएतले धारणा राखेका थिए । धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुले वर्तमान सरकार सफल हुनुपर्ने, सुशासनका बिषयमा खरो उभिनुपर्ने, पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले बताए । आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका बिचारलाई समावेश गरेर परिमार्जन पारित गर्ने र समसामायीक बिषयमा समेत निर्णय लिने जानकारी दिए ।
सोमबारको बैठकले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्म जयन्तीका अवसरमा उच्च सम्मान साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको प्रवक्ता महतले बताए ।