धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृत विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत देखिएको र त्यसमा दाहाल र भट्टराई संलग्न देखिएपछि दुबैविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइएको।
सिरोहियाका बाबु घासीराम मारवाडीको अंगिकृत नागरिकता भएपनि उनका कान्छा छोरा कैलाशले भने वंशजको नागरिकता लिएको अनुसन्धान खुलेको प्रहरीले जनाएको छ ।
सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका मिति नै फरक फरक देखिदै आएको छ । सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेको भेटिएको छ । त्यसपछिको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएको पाइएको छ । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिरोहिया हिरासतमा रहेका बेला अनुसन्धानका लागि प्रतिलिपी जारी गरेका तत्कालीन शाखा अधिकृत दाहाललाई बयानका लागि बोलाइएको थियो । तर दाहालले दिएको बयान र अनुसन्धानबाट खुलेको तथ्य नमिलेपछि दाहाललाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने देखिएको हो । प्रहरी स्रोतका अनुसार सिरोहियालाई नागरिकता ऐन २०२० अनुसार वंशजको नागरिकता दिइएको नागरिकतामा उल्लेख छ । तर नागरिकता जारी भएको मितिसम्म उक्त ऐन नै लागु भएकने थिएन । लागुनै नभएको ऐन अनुसार भन्दै वंशजको नागरिकता दिएको विषय गम्भिर भएकाले तत्कालिन समयका प्रमुख जिल्ला अधिकारी तथा प्रतिलिपि दिने अधिकारीलाई अनुसन्धान गर्नु पर्ने देखिएको प्रहरीको दाबी छ ।
जनकपुरधाम उपमहानगरपालिका १ का स्थायी बासिन्दा रहेका सिरोहियाले वंशजको नागरिकता बनाउनैका लागि वडा न ५ बाट सिफारिश लिएको समेत अनुसन्धानमा खुलेको प्रहरी स्रोतले जनाएको छ ।
जेष्ठ १७, २०८१ १०:१९ मा प्रकाशित