काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा रेर्कड गरिएका गोप्य भिडियो तथा तस्बिर ब्रेकअपछि आफन्त तथा साथिभाईलाई पठाई पीडितलाई हैरान पार्ने ३ व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार उनीहरुले निकटमा हुँदा रेर्कडका गरेको गोप्य भिडियो तथा तस्विर म्यासेन्जर मार्फत पीडितका आफन्तहरुलाई पठाउने गरेका थिए ।
पक्राउ परेका मध्ये रौतहट चन्द्रपुर नगरपालिका जुडिवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारीले ‘फेसबुक’ मा साथी बनी कुराकानीका क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू ‘रेकर्ड’ गरी राखेर पीडितका आफन्त तथा साथीहरूको ‘म्यासेन्जर’ मा पठाउने गरेका थिए ।
यस्तै पक्राउ परेका अर्का ३७ वर्षीय रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिर सहित अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ‘ह्वाट्स एप गु्रप’ मा ‘शेयर’ गर्ने गरेका थिए ।
उनी चितवन भरतपुर महानगरपालिका–१२ का हुन् । यस्तै लक्ष्मण यादव भन्ने जगदीशप्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीका ‘म्यासेन्जर’मा पठाई चरित्रहत्या गर्ने गरेका थिए । सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका २४ वर्षीय यादव वैदेशिक रोजगारीको क्रममा कतारमा रहि नेपालमा रहेकी पीडितलाई दुख दिएको भन्दै प्रहरीमा उजुरी परेको थिए ।
वैदेशिक रोजगारीबाट फर्कीने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केन्द्रीय साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालका अनुसार कृष्णप्रसाद भन्ने बिहानीबहादुर र रूपक शर्माउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदीशप्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ ।