संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिदैँ छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने तयारी छ ।
पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङको शवयात्राको लागि रुट तय भएको छ । नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट तय गरिएको छ ।
श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि उनको पार्थीव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ ।
निजी निवास बालुवाटार पुर्याइएपछि पारिवारिक तथा धार्मिक संस्कारअनुसार नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । त्यहाँ नेम्वाङप्रति आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।