काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएपछि कांग्रेसका शीर्ष ४ नेता बालुवाटार पुगेका छन् । संसद्मा जारी गतिरोध अन्त्य गर्न भन्दै प्रधानमन्त्री दाहालले आइतबार बिहान छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई बालुवाटार बोलाएका थिए ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार केहीबेर अघि मात्रै प्रधानमन्त्री निवासमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला पुगेका छन् ।
संसद्को बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने भन्दै संसद् अवरुद्ध गरेको थियो । सरकारले जेठ १ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । शुक्रबार स्थगित संसद् बैठक सोही दिनका लागि बोलाइएको छ ।