काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसका महामन्त्री गगन थापा विरुद्ध संसद्मा आक्रोशित रुपमा प्रस्तुत भएका छन् ।
कांग्रेसले झण्डै २ महिना गरेको संसद अवरोधपछि आइतबार संसद्मा आफ्नो भनाई राख्न पाएका लामिछानेले कपोकल्पित आरोप लगाएर लेखिएको समाचारको बहकाउमा लागेर कांग्रेस र त्यसका नेताले आफू विरुद्ध विष बमन गरेको आरोप लगाए ।
भ्रम छर्न लेखिएको समाचार कै कारण आफू विरुद्ध कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न खोजेको भन्दै उपप्रधानमन्त्री लामिछानेले समाचार लेखेकै कारण संसदीय छानबिन गर्न चुनौती दिँदै गगन थापाबारे लेखिएको समाचारको विषय संसद्मा प्रस्तुत गरे ।
‘कांग्रेसका महामन्त्री थापा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति हुँदा पार्क बनाउन दिइएको बजेटमा ३० लाख रुपैयाँ भ्रष्टाचार भएको, त्रिविको वेबसाइट बनाउन ५ लाख पैसा लिएर वेबसाइट नबनाएको, प्याक्टबाट १५ करोड लिएर नुवाकोटमा बाख्रा पालन गरेको र गोल्फुटारमा मासु पसल खोलेको तर केही समय पछि बन्द गरेको समाचार आएको थियो,’ लामिछानेले प्रश्न गरे, ‘के यो र यस्तै समाचारका हेडलाइनका आधारमा नि संसदीय छानबिन समिति गठन गर्ने हो ?' प्रायोजित रुपमा समाचार लेखाएर, होहल्ला गरेर संसद्लाई कांग्रेसले बन्धक बनाएको आरोप पनि लामिछानेले लगाए ।