काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो । उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।
काठमाडौँ-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार विहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ ।
उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकाे ।
साङ्घाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसङ्ख्या रहेको साङ्घाई चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ । यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।
मंसिर १६, २०८० ०४:१३ मा प्रकाशित