काठमाडाैँ : एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा परेको छ ।
ठूला करदाता कार्यालयविरुद्ध एनसेलले दायर गरेको रिट माथि आज सर्वोच्च अदालतमा सुनुवाईका लागि पेशी तोकिएको थियो । तर गोला तान्ने क्रममा एनसेलको विवादित लाभकर सम्बन्धी मुद्दाको पेशी सूची कुनै पनि न्यायाधीशले नतानेपछि मंगलबार पनि स्थगितमा परेको हो ।
मंगलबार स्थगित भएको उक्त मुद्दाको अर्को पेशी फागुन १५ गतेलाई तोकिएको छ ।
ठुला करदाता कार्यालयले ५८ अर्ब रुपैयाँ कर निर्धारण गरेपछि तीन वर्षअघि एनसेल सर्वोच्च पुगेको थियो ।
एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने रेनोल्ड होल्डिङ नामक कम्पनी खरिदबिक्रीका क्रममा कर विवाद भएको थियो । रेनोल्ड होल्डिङको शतप्रतिशत शेयर स्विडेनको टेलियासोनेराले मलेसियन कम्पनी आजियाटालाई बेचेको थियो ।
एनसेलमा ८० प्रतिशत रेनोल्ड होल्डिङ्को शेयर रहेको र रेनोल्डसको शेयरमात्रै किनबेच भएकाले स्वामित्व परिवर्तन भन्न नमिल्ने दावी एनसेलको थियो ।
तर ठूला करदाता कार्यालयले २०७७ मा स्वामित्व परिवर्तन बापत ‘संशोधित कर निर्धारण’ किन नगर्ने भनी एनसेललाई पत्र पठाएको पछि उक्त निर्णय विरुद्ध एनसेल सर्वोच्च अदालत गएको हो ।
२०७२ सालमा एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने रेनोल्ड होल्डिङ नामक कम्पनीलाई टेलियासोनेराले आजिआटालाई बेचेको थियो । तत्कालीन विनिमय दर अनुसार, एक खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभ गरेको भनी त्यसका आधारमा कर निर्धारण गरेको थियो ।
एनसेलले दायर गरेको मुद्दा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताकोमा विचाराधीन रहेको भन्दै यस अघि महान्यायाधिवक्ता कार्यालयले रिट निवेदन माथिको सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै आएको थियो ।
एनसेलले कर निर्धारण विरुद्ध लगानी सम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेशनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्यूट(आईसीएसआईडी)मा मुद्दा दायर गरेको थियो ।
कर निर्धारण प्रक्रिया अघि बढेपछि २०७७ माघमा एन्सेलले अर्को मुद्दा पनि दायर गरेको थियो । सर्वोच्च अदालतले दुवै मुद्दा एकसाथ राखेर हेर्ने आदेश गरेको थियो । सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइको मिति नजिकिदै गर्दा आजियाटाले शेयर बेचेको सूचना सार्वजनिक भएको थियो ।
अहिले पनि आजिआयटले एनसेलमा रहेको सेयर स्पक्टे«लाइट युकेलाई खरिद मूल्य भन्दा ९६ प्रतिशत कममा बिक्रि गरेपछि कर छल्न खोजेको आशंका उब्जीएको छ ।