काठमाडौँ । निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ ।
बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मिति प्रस्ताव गरेको हो ।
फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।
सो अनुसार आयोगले सरकारलाई आज मिति प्रस्ताव गरेको हो । माघ १५ गतेभित्रै राष्ट्रिय सभा सदस्यको पदपूर्ति गर्न आयोगले त्यसदिन मिति तोकेको हो।