सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेश सभाको दशौं बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेका हुन् ।
जसमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
प्रदेश सरकारको बजेटमा भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आवका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयका लागि पाँच अर्ब ७२ करोड र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि दुई अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई २९ करोड ६४ लाख, भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि एक अर्ब ८६ करोड र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि रु एक अर्ब ९४ करोड विनियोजन गरिएको छ ।