काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको आज बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
डिआइजी पोखरेल हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख छन् । उनी मात्र २ दिनको लागि मात्र एआईजी बन्न लागेका हुन् ।
असार १८ गतेका अनिवार्य अवकाशमा जान लागेका एआईजी उमेशराज जोशीको ठाउँमा पोखरेललाई बढुवा सिफारिस गरिएको हो । त्यसको २ दिनपछि अर्थात असार २० गतेबाट पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । त्यसकारण उनले २ दिन मात्र एआईजी बन्न पाउनेछन् ।