काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा.नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् । सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि नवनियुक्त राजदुतहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।