काठमाडौँ । सहकारी प्रकरणमा बयानका लागि वीरगन्ज लगिएका रास्वपा सभापति रवि लामिछानेको बयान शुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार बयानका लागि लामिछानेलाई बिहान ९ बजेनै कार्यालयमा पुर्याइएको छ । वीरगन्ज महानगरपालिका ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकमबारे लामिछानेसँग बयान हुने छ ।
लामिछानेको बयान आजै सक्ने तयारी गरिएको जनाइएको छ । यस अघि बयानका लागि वीरगन्ज लगिएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । उनलाई आजै पोखरा फिर्ता गर्न लागिएको प्रहरीले जनाएको छ ।
सोहि सहकारी प्रकरणमा पक्राउ परेका सहकारीका उपाध्यक्ष नेहा पौडेल तथा कर्मचारी राधेचन्द्र यादव धरौटीमा रिहा भैसकेका छन् ।