राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बालकुमारी घटनामा गृह प्रशासनको भूमिका कमजोर देखिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेकी छिन् ।
सांसद कार्कीले कोरियन भाषा परिक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवाको ज्यान गएपछि गृहमन्त्री श्रेष्ठले कुर्सीमा बस्ने नैतिकता गुमाएको बताएकी हुन । उनले भनिन्, ‘गृहमन्त्री र प्रहरी प्रमुखको आदेश बिना गोली चल्दैन, तर बालकुमारी गोली चलेर दुई युवाको मृत्यु भयो ’।
सांसद कार्कीले गृहमन्त्री मातहतकै निकायको छानबिन समिति माथि पनि प्रश्न उठाएकी छिन् । गोली हान्न आदेश दिने र गोली हान्ने संयन्त्र गृहमन्त्री मातहतकै भएकाले गृहमन्त्रालयले बनाएको छानबिन समिति रास्वपालाई मान्य नभएको उनले बताएकी हुन् ।
सासद कार्कीले प्रहरीले भिड नियन्त्रण गर्न अपनाउनु पर्ने विकल्पहरु नखोजी गोली चलाएको दाबी गरिन् । उनले घटनास्थलमा खटिएका प्रहरी र गोली हान्न आदेश दिनेलाई समेत छानबिनको दायर ल्याउन माग गरिन् ।