
काठमाडौँ । दरबारमार्गको फुटपाथमा ग्रेनाइड विछ्याउने काम थालिएको छ । काठमाडौँ महानगरपालिकाले ५ करोड १५ लाख लागतमा सो क्षेत्रमा ग्रेनाइड विछ्याउने कार्य सुरु गरेको हो ।
द्रुत गतिमा अघि बढेको स्तरोन्नतिको सो काम महानगरपालिकाको अनुगमन समितिले निरीक्षण गरेको छ । निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, ग्रेनाइड सेटिङ्को निरीक्षण गर्दै पैदलमार्ग पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरुको संरक्षणका विषयमा अधिकारीहरुसँग जिज्ञासा राखेकी थिइन् ।
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।
नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदैछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म रहेको छ ।
सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको छ । त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको छ । त्यसभन्दा माथि पिसिसी ढलान गरेर ग्रेनाइड विछ््याइएको छ । पैदलमार्गमा राखिएको ग्रेनाइड १६ एमएमसम्मको हुनेछ ।
सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रा. लि. ले काम गरिरहेको हो । २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको हो । योजनाको अवधि यही माघ मसान्तसम्मसम्म हो ।