काठमाडौं । टी-२० विश्वकप छनोटका लागि सन्दीप लामिछानेलाई समेट्दै नेपाली टोली घोषणा भएको छ ।
रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी समावेश छन् ।
टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम मौसम ढकाल र सागर ढकाल टिममा अटाएनन् ।
एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । सोमबार नेपालले पहिलो खेल सिंगापुरसँग खेल्नेछ ।
फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न पाउनेछन् ।