काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक गाडीहरू परेको छ। केहीबेर अघि गएको भीषण पहिरोमा परी कति गाडी पुरिए भन्ने यकिन भएको छैन् तर एउटा वीङ्गर भ्यानमा रहेका ७ वटा शव निकालिएको घटनास्थलमा रहेका थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।
दुर्घटनास्थलमा थपलियाको कमान्डमा प्रहरी परिचालन गरिएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको तत्काल खोज तथा उद्धार समिति ( र्याट) पनि झ्याप्ले खोलामा उद्धारमा जुटेको छ । उक्त समितिका एक जना सदस्य आशिष थापाले पनि घटनास्थलबाट ७ वटा मृतकको शव निकालिएको पुष्टि गरे ।
‘भीषण पहिरो झरेको छ । कति गाडी पुरिए भन्ने नै यकिन छैन् । ठूलो मात्रामा मानवीय क्षति भएको अनुमान छ,’ थापाले भने,‘ यतिबेलासम्म ७ वटा शव निकालिएको छ । अरु ४÷ ५ वटा शवहरू देखिएको छ निकाल्न सकिएको छैन् । ’
थापाकाअनुसार घटनास्थलमा अन्य आधा दर्जन गाडीहरू पुरिएको अनुमानमा खोजी जारी राखिएको छ ।
पुरीको वीङ्गर भ्यान र मृतकबारे अहिलेसम्म केही खुलेको छैन् ।
आश्विन १२, २०८१ ०७:५६ मा प्रकाशित