काठमाडौँ । आफ्नै कलाकारले विद्रोह गरेर गम्भिर आरोप लगाएपछि बिहीबार ‘इन्द्रेणी’ कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले पत्रकार सम्मेलन गरे ।
‘इन्द्रेणी’ को बुद्धनगरस्थित स्टुडियोमा आयोजित पत्रकार सम्मेलनमा कंडेलले पत्रकार सम्मेलनको अधिकांश समय आफ्नो बचाउमा खर्च गरे । तर, पूर्व कर्मचारीहरूले लगाएको आरोपको स्पष्ट जवाफ दिन सकेनन् । बरु उनले भावनात्मक कुरा गरेर पत्रकार सम्मेलन भर आफूमाथि लागेको आरोप पन्छ्याउने प्रयास गरे ।
शुक्रबारको कंडेलको पत्रकार सम्मेलन र बुधबार र बिहीबार उनीमथि इन्द्रेणीकै कलाकारले लगाएको आरोप र जवाफ हामीले यहाँ तुलना गरेका थियौँ । पत्रकार सम्मेलन गरेर इन्द्रेणीबाट निकालिएका कलाकार शर्मिला श्रेष्ठसहितका कलाकारले लगाएको आरोपबारे कंडेल स्पष्ट खण्डन गर्न सकेनन् ।
आरोप र खण्डन
आरोपः कलाकार शर्मिला श्रेष्ठ लगायतलाई इन्द्रेणीले जागिरबाट निकाल्यो ।
खण्डन : निकालिएको होइन ।
आरोपः कलाकारहरुमाथि यौनहिंसा गरियो
खण्डनः निराधार हो ।
आरोप : कलाकारलाई १० वर्ष काम गरे घर दिने सम्झौता थियो, घर दिने बेलामा निकालियो ।
खण्डनः कसैलाई यस्तो सम्झौता गरेको छैन ।
आरोपः महिला कलाकारको घरमा कँडेल गए
खण्डन : म सबै कलाकारको घरमा राम्रो नियत र सेवाका लागि जान्छु । यो गलत हो ?
आरोप : कार्यक्रममा लामो समयदेखि काम गरेका कलाकार शर्मिला श्रेष्ठ र अन्य कलाकारलाई जागिरबाट निकालेको ।
खण्डन :आफूले इन्द्रेणीमा काम गरेका कलाकारलाई अन्याय गरेको छैन ।
आरोप : कलाकारहरुको यौन शोषण र दुर्व्यवहार गरेको ।
खण्डन : ति सबै आरोपहरु निराधार हुन् ।
आरोप : स्टाफ मिटिङ भनेर बोलाई कर्मचारीमाथि कुटपिट गरेको ।
खण्डन : मेरो परिवारको समेत चरित्रहत्या गर्ने कुरा गरेपछि, आवेशमा आएपछि, छोरालाई नै नराम्रो गर्न खोजेपछि उनीहरुलाई धकेलेको हो ।
आरोप : इन्द्रेणीमा आर्थिक अनियमितता गरेको बाहिर आउने डरले कलाकारहरुलाई निकालेको ।
खण्डन : कानुन अनुसार अडिट गरिएको छ । आर्थिक अनियमितता भएकै छैन ।