बुधबार बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त गर्ने भएको छ । हाल न्याय परिषदका सचिव रहेका ढकाललाई मुख्य रजिस्ट्रारमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघिका मुख्य रजिस्ट्रार रहेका लालबहादुर कुँवरको उच्च अदालतको न्यायाधीशमा नियुक्त भएसँगै रिक्त रहेको उक्त पदमा ढकाललाई नियुक्तका लागि सिफारिस गरिएको हो ।
त्यस्तै रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार रहेका विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने आयोगले निर्णय गरेको छ।
न्याय सेवा आयोगले न्याय सेवाका ५ जना सहसचिवहरुको सरुवा समेत गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्यायपरिषदमा, न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा, उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा, फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशकमा सरुवा भएका हुन् ।