काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद बैठक चल्न नदिने भएको छ । सभामुख देवराज घिमिरेसँग बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि माओवादी केन्द्रका सांसदहरूको बैठक बसेको थियो । सो बैठकले प्रतिनिधि सभाको बैठक चलन नदिने निर्णय गरेको हो ।
यसअघि प्रतिनिधिसभालाई सहज रुपमा अघि बढाउने बिषयमा सभामुख देवराज घिमिरले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसंग छलफल गरेका थिए ।
संसद सचिवालय सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनको गतिरोध हटाई सहज रुपमा सदनलाई अघि बढाउन आग्रह गरेका थिए । यसअघिको बैठकमा हिंसा शव्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने सभामुखको रुलिङसंगै माओवादीले विरोध जनाउदै सदन अवरद्ध गरेको थियो । त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले नै सदनमा निरन्तर विरोध जनाउने निर्णय गरेपछि सभामुखले छलफल गरेका थिए ।