काठमाडौँ । सिन्धुलीमा अविरल वर्षापछिको बाढीले वितण्डा मच्चाएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार गए रातिदेखिको बाढीका कारण राजमार्गहरू अवरुद्ध भएका छन् भने जिल्लाका प्रमुख बजार र सुरक्षा बेस समेत डुबानमा परेको छ ।
बिहान ११ बजेसम्मको रिपोर्टिङमा बाढी र पहिरोका कारण एक जनाको मृत्यु भएको र ३३ जना मानिसहरू बाढीमा फसेको प्रमुख जिल्ला अधिकारी शर्माले सिधाकुरालाई बताए ।
जिल्लाको धिमान ९ का एक जनाको बाढीले बगाएर निधन भएको उनले बताए । यस्तै, सुनकोशीको बाढीका कारण कुशेश्वर मन्दिर क्षेत्रको टापुमा रहेका ३३ जना हिजो बेलुकीदेखि फसेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । बाढीमा फसेकाहरु सँग फोनमा कुराकानी भइरहेको र उद्दारका लागि काठमाडौँबाट हेलिकप्टर माग गरिएको शर्माले बताए ।
भत्किएका राजमार्गहरू सफा गर्ने र उद्धार र खोजका लागि सुरक्षाकर्मीहरूको परिचालनमा जिल्लाको सम्पूर्ण शक्ति परिचालन गरिएको उनको भनाई छ ।