काठमाडौँ । हुन्डी कारोबारको आशङ्कामा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले ४५ लाख नगद सहित फरक फरक स्थानबाट ३ जनालाई नियन्त्रणमा लिएको छ ।
सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीकाअनुसार सोमबार चलाईको अपरेसनमा ठमेलको जियाङसो होटलबाट शंकास्पद झण्डै ३६ लाख रुपैयाँ नेपाली रकमसहित एक चिनियाँ र अर्को एक स्थानबाट ९ लाख रुपैयाँ नगदसहित एक जना नागरिक पक्राउ परेका छन् ।
बोगटीकाअनुसार प्रहरीले जियाङसो होटलका सञ्चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘शंकास्पद हुन्डी कारोबारको सूचनाका आधारमा अपरेसन चलाइएको हो,’ एसपी बोगटीले भने, ‘एक नेपालीसहित फरक फरक स्थानबाट झण्डै ४५ लाख नगदसहित ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढेको छ ।’ पक्राउ परेकाहरुबारे विस्तृत अनुसन्धान अझै बाँकी रहेकाले थप विषय स्पष्ट हुँदै जाने पनि उनले बताए ।