३ असोज, काठमाडौं । आज देशभरका शिक्षक शिक्षिकाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले संसदमा पेश भएको शिक्षा विधेयकको बिरोधमा काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
उक्त आन्दोलनकै लागि देशका बिभिन्न जिल्लाका शिक्षक शिक्षिकाहरु गाडी रिजर्भ नै गरेर काठमाडौं आएका थिए । नेपाल शिक्षक महासंघले यो आन्दोलनको आह्वान गरेको थियो ।
आन्दोलनरत शिक्षकहरुले १९ बुँदे असहमति व्यक्त गरेका छन् । उनीहरुले बिधेयकको दफा ७१ देखि ८८ सम्ममा उल्लेख गरिएका प्रावधानहरु संसोधनको माग राखेका छन् । उनीहरुले विधेयकमा उल्लेख भएको प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारी शिक्षकले इमान्दारीपूर्वक पुरा गर्नुपर्ने बुँदा पनि संसोधनको माग गरेका छन् ।
त्यस्तै उपहार, चन्दा र सहयोग लिन नहुने, कम्पनी सञ्चालन वा व्यापार नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने लगायतका प्रावधानमा उनीहरुले अनुन्तुष्टि व्यक्त गर्दै संसोधनको माग राखेका छन् ।
शिक्षकहरुले गरेको आन्दोलनका कारण माइतीघरमा आसपासका क्षेत्रको ट्राफिक व्यवस्थापनमा निकै समस्या भएकाे छ । जसका कारण यात्रुले घण्टौँ जामको सामना गर्नुपरेको छ ।