
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौँमा थालेको आन्दोलनप्रति संवेदनशिल रहेको जनाएको छ । साथै पार्टीले यस विषयमा सरोकारवाला निकायसँग निरन्तर छलफल समेत गरिरहेको जनाएको छ ।
बिहिबार एक विज्ञप्ती जारी गर्दै पार्टीले सरोकारवाला र विज्ञहरुसँग परामर्श गरी यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नु पर्छ, ती विद्यालयहरुमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं र छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो । शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’
विज्ञप्तीमा रास्वपाले शिक्षक जस्तो मर्यादित र अतिसम्मानित पेशालाई सरकारबाट कहिलै उचित व्यवहार नभएको समेत उल्लेख गरेको छ । ‘समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षौंसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरुलाई अन्यौलमा राखिंदै आएको पाइन्छ ।’ विज्ञप्तीमका भनिएको छ ।
पार्टीले शिक्षकहरुको पेशागत विकासका मागहरुमा एकै ठाउँमा उभिन तयार रहेको बताउँदै पढ्न पाउने पाउने विद्यार्थीको अधिकारलाई कुण्ठित नपार्न आग्रह गरेको छ । विज्ञप्तीमा शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुलाई आग्रह गरिएको छ ।