काठमाडौँ । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं। १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो ।
निरीक्षण अधिकृत डा.अवधेश झाका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिएको थियो । उक्त नमूना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परिक्षणपछि अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरले जनाएको छ । प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ ।
खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनु पर्ने हो । बस्नेतले भने पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ बस्नेतका अनुसार कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो ।
यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो ।
डा झाका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमूनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ ।
जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।