वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा उक्त जानकारी दिएका हुन् ।
अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी दश अर्ब रुपैयाँ हुनेछ । यसमा महासङ्घका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए ।
कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि दाबी गरे । राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेण्डा हुन नसक्दा समन्याय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासङ्घको चैत्र अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूका ऐक्यवद्धता खोजिने जानकारी गराए ।