काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेका कारण प्रहरीले यातना दिएको भन्दै सार्वजनिक भएको भिडियाको दावी गलत भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले विज्ञप्ती जारी गर्दै भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियोबारे ध्यानाकर्षण भएको जनाएको छ ।
गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिकाटिप्पणीका कारण प्रहरीले ब्युरोले यातना दिएको दाबी गरेका थिए । साथै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको समेत बताइएको छ ।
तर साइबर ब्यूरोले वास्तविकता भने फरक भएको बताएको छ । ब्युरोका अनुसार ऋषीराज झा नामको फेसबुकबाट अश्लिल सामग्री पोष्ट गरी हैरानी दिएको भन्दै उजुरी परेको थियो । उक्त उजुरीबारे अनुसन्धान गर्दा उक्त आइडी जाजरकोटका गणेशमान सिंहले चलाउने गरेको खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई प्रहरी कार्यालय बोलाएको थियो । सिंह बैशाख १२ गते कार्यालय पुगेका थिए । उनको साथीले दिएको पूर्व जानकारी अनुसार सोधखोज गर्दा उनले २ स्ट्रिप सिटामोल खाएर आएको बया दिएका थिए । त्यसपछि प्रहरीले तत्कालै उनलाई वीर अस्पताल लगेको थियो । र उनले अस्पतालको बेडबाटै भ्रमपूर्ण भिडियो सार्वजनिक गरेका थिए । उनले आफूविरुद्ध दर्ता भएको आपराधिक उजुरीको अनुसन्धानमा समेत बाधा उद्देश्यले उक्त भिडियो पोष्ट गरेको ब्यूरोको विज्ञप्तीमा उल्लेख छ ।