काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघले २२ क्यारेटको सुनको मूल्य तोक्न सुरु गरेको छ । महासंघले यस अघि लामो समयसम्म तेजाबी सुनको मूल्य ताक्दै आएको थियो । बजारमा ग्राहकबाट फिर्ता आउने तथा नेपालमै प्रशोधन भएको सुनलाई तेजाबी सुन भनिन्छ । तेजाबी सुन र छापावाल सुन बीचको मूल्यान्तर करिब ५ सय रुपैयाँ प्रतितोलामा हुँदै आएको थियो ।
गत सातासम्म यसैगरी बजारमा मूल्य तोकिने गरिएको थियो । तर, बजारमा अहिले २२ क्यारेटको सुनको माग उच्च भएपछि २२ क्यारेटको सुनको मूल्य महासंघको वेबसाइटमा तोक्न थालिएको महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
‘२२ क्यारेटको सुन निकै बलियो र मजबुतीको गहना बनाउनका लागि प्रयोग हुन्छ,’ उनले भने, ‘बजारमा धेरै माग भएपछि अहिले हामीले २२ क्यारेटको मूल्य वेबसाइटमा राखेका हौँ । तेजाबी सुनको बजार मूल्य त यथावत नै छ ।,’ वेबसाइटमा नतोके पनि बजारमा भने चलनचल्तीका लागि तेजाबी सुनको मूल्य तोकिने शाक्यको भनाई छ ।