रौटहट । रौटहट गरुडाको इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिका स्वास्थ्य सहाएक (एचए) मार्फत अनधिकृत रुपमा महिलाकाे पाठेघरको अपरेसन गर्दा एक महिलाको मृत्यु भएको छ ।
पेट दुखेर उपचारको लागि पुगेकी रौटहटको चन्द्रपुर नगरपालिका ७ मुस्लिम टोल बस्ने नुरजहान खातुनको अपरेसनकाे क्रममा मृत्यु भएको हो ।
खातुनको मृत्युपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेको छ ।
पेट दुखेपछि उपचारको लागि कात्तिक २० गते गरुडास्थित अस्पताल पुगेकी खातुनको दिउँसो २ बजे स्वास्थ्यकर्मीले पाठेघर झिकेर फालिदिएका थिए । त्यसपछि उनको अवस्था झनै बिग्रिएको थियो । साँझ वीरगञ्ज रेफर गरेकी खातुनको वीरगञ्जस्थित मेट्रोसिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा हस्पिटल लेखिए पनि एमबीबीएस चिकित्सक नै नभएको क्लिनिक मात्रै भएको पाइएको प्रहरीले जनाएको छ । अस्पतालमा भिडिओ एक्स-रे, आइसीयू, भेन्टिलेटर लगायत उपचारका लागि आवश्यक कुनै पनि सामान नभएको देखिएको प्रहरीले जनाएको छ ।
उक्त क्लिनिकले बिरामीको अप्रेसन पुर्व नै २० हजार रुपैयाँ लिएको थियो ।