काठमाडाैँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा खस्केको मनोबल उठाउने बताएका छन् । पद तथा गोपनियताको सपथ पछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पुनले यस्तो धारणा राखेका हुन् ।
अर्थतन्त्रमा आशा जगाउने गरी आफूले काम गर्ने भन्दै उनले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । पहिलोपटक अर्थमन्त्रीको रुपमा आउँदा पनि समस्या रहेको स्मरण गर्दै उनले उतिबेला पनि समस्या समाधान गरेको बताए । ‘म पहिले आउँदा पनि समस्या थियो । त्यसबेला राम्रो सुधार गरेको थिएँ,’ उनले थपे, ‘अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । मनोबल बढाउनु पर्नेछ ।’
मन्त्रालयको पदभार सम्हालेपछि मन्त्री पुनले जलवायु वित्त मार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधार निर्माणमा लगाउने पहिलो निर्णय गरेका छन् ।