त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि प्रा डा शिवलाल भुसाललाई पुनः निरन्तरता दिइएको छ ।
उपकुलपति पदका लागि उनै भुसालसहित ४३ जनाले आवेदन दिए पनि नियुक्तिमा ढिलाइ भएको हो। नियुक्तिमा ढिलाइ हुने भएपछि भुसाललाई दोस्रो पटक उपकुलपति तोकिएको छ।
त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा भुसाललाई तीन महिनाका लागि निरन्तरता दिएका हुन् ।
यसअघिका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि कात्तिक १६ गतेदेखि सकिएपछि प्रचण्डले कात्तिक १७ गते भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए।
विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपतिसहित पदाधिकारी तोक्ने प्रवृत्तिको विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले राजनीतिक भागबन्डा नगर्ने र मेरिटका आधारमा नियुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।