काठमाडौं । बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल बाल संगठनको तर्फबाट मंगलबार जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला अदालतबाट ठगिमा अनुसन्धानका गर्न पक्राउ पुर्जीका लागि अनुमती माग गरेको थियो । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी भएको छ ।
बालमन्दिरका नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको भन्दै सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको, २०८९ मा सकिने सम्झौता समेत बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको देखिएको थियो ।
काठमाडौंको केन्द्र नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। लिजमा लिने जोशी परिवार र विशाल ग्रुप रहेका छन् ।
जाहेरीमा अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरिएको र त्यस्तो कार्य गर्नेरगराउनेलाई कानूनअनुसार कारबाहीको माग गरिएको छ । स्वार्थपरक लिज सम्झौताका आधारमा गरिएको सम्झौताले संगठनलाई भएको आर्थिक हानी(नोक्सानीबारे अध्ययन भइरहेको ब्यूरोले जनाएको छ।