चितवन । चितवनमा रास्वपा सभापति रवि लामिछानेमाथि ढुंगामुडा गरी पक्राउ परेका व्यक्तिहरु सहकारी पीडित नभएको खुलेको छ । उनीहरु कांग्रेस र एमालेका कार्यकर्ता भएको पाइएको छ ।
रास्वपा सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट कार्यक्रम’ विथोल्न खोजिएको थियो । शनिबार ११ वजेका लागि तोकिएको उक्त कार्यक्रममा केही मानिसहरुको हुल जवरजस्ती होहल्ला गर्दै कार्यक्रमस्थल प्रवेश गर्न खोजेका थिए । सो क्रममा उनीहरुले ढुंगामुडा समेत गरेका थिए ।
ढुंगा लागेर सफल गुप्ता थापा र अमित गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
ढुंगा प्रहार गर्नेलाई प्रहरीले तितरवितर गरेको थियो । जसमध्ये दुईजनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेहरुमा अनमोल अधिकारी र हरि आचार्य रहेका छन् । अधिकारी चितवन कांग्रेसका प्रवक्ता हुन् भने आचार्य नेरास्विवयुमा आवद्ध छन् ।
उनीहरुलाई छुटाउन कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल प्रहरी चौकी पुगेका छन् । सहकारी पीडितको अवरणमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले सभापतिमाथि आक्रमण गरिएको चितवनका रास्वपा नेताहरुले बताएका छन् ।