काठमाडाैँ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाउने फैसलाविरुद्ध सन्दीपका वकील उच्च अदालत जाने भएका हुन् ।
जिल्ला अदालत काठमाडौँले फैसला सुनाएसँगै वकिल सरोज घिमिरेले जिल्ला अदालतको फैसलाप्रति असन्तुष्ट जनाउँदै कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको बताए । फैसला सुनेर बाहिरिँदैगर्दा उनले आफ्नो असन्तुष्टि पोखेका हुन् ।
‘हामी सुरुदेखि नै सन्दीप लामिछाने निर्दोष हो भन्ने मान्यता राख्छौँ र सन्दीप पनि आफू निर्दोष छु भन्ने कुरामा पूर्ण विश्वस्त छ ।’, उनले थपे, ‘हामीलाई अदालतको स्वतन्त्र, निष्पक्षतामा अटल विश्वास छ तर त्यो हुँदाहुँदै पनि अदालतले गरेको दोषी ठहर भन्दै जुन फैसला गरेको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ ।’
त्यस्तै सन्दीपको मुद्दामा जे फैसला आयो त्यसमा अदालत पूर्वाग्राही भएको उनले आरोप लगाए । ‘ अदालतको यो सजाय र फैसला पूर्वाग्रही भयो । न्यायालयले फैसला सुनाउँदा कुनै आधार र प्रमाण लिएको हुनुपर्ने हो तर यो मुद्दामा त्यो गरिएको छैन । त्यसमा हाम्रो आपत्ति र डिसेन्टिङ ओपनियन छ त्यसैले हामी माथिल्लो अदालतमा गएर त्यसलाई च्यालेन्ज गर्छौँ ।’, उनले भने ।
जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो । १३ पुसमा बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई सजाय भने आज तोकिएको हो । त्यस्तै न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ ।